Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमा रातिदेखि नै वर्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २७ गते


Advertisement

काठमाडौं । लुम्बिनीप्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि नै वर्षा भइरहेको छ । ती क्षेत्रमा २९ गते बिहानसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार नै विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो ।

बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भइरहेको छ ।

वर्षाको मात्रा अझै बढ्ने सम्भावनारहेको छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ ।

त्यसैले ती जिल्लाहरुलाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

महाशाखका मौसमविद गोविन्द झाका अनुसार भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ । त्यसको प्रभावले नेपालको पश्चिमी भूभागमा बढी वर्षा भएको हो ।

यस्तै पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिमको सूचीमा राखे पनि मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

खासगरी बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, अर्घाखाँची, तनहुँ, अर्घाखाँची, रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके, दैलेख, कालिकोट, सल्यान, दार्चुला, बझाङ र बाजुरा जिल्ला मध्यम जोखिममा रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

बाँकी ३३ जिल्लालाई महाशाखाले निम्न जोखिमको सूचीमा राखेको छ । काठमाडौं उपत्यका र हिमाली क्षेत्रसहितका अन्य १७ जिल्लाबारे भने महाशाखाको विशेष बुलेटिनमा केही उल्लेख छैन ।

तर महाशाखाका मौसमविद झाले भने काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको जानकारी दिएका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा आज अपराह्नपछि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

सिन्धुपाल्चोक र काभ्रे जिल्लामा भने भारी वर्षा गराउने बादल जम्मा भएको उनले बताए ।


प्रतिकृया दिनुहोस्