Hamro Sanchar

मेलम्ची भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित ४ जना दोषी ठहर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २५ गते


Advertisement

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदै ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुनमा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएकोमा विशेषले सिएमसीलाई दोषी ठहर गरेको छ ।

विशेषले पूर्वसचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ ।

विशेषले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो माग गरेको छ । त्यस्तै देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ ।

इप्टिसा र बेट्स (बीइटीएस)सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ ।

इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ । विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि असोज ७ गते पेशी तोकेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरू डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र मुकुन्द प्रसाद पौडेल लगायत १० जनाले सफाइ पाएका छन् ।

अख्तियारले ६ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो ।


प्रतिकृया दिनुहोस्