काठमाडौं, भदौ २०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जापानको ओचुकी सिटीका मेयर कोबायासी नोबुयासु कागेश्वरी मनोहराको भ्रमणको निम्ता दिएका छन् ।
बुधबार कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओचुकी सिटीबीच भगिनी सम्बन्ध गाँसिएको छ । सोही कार्यक्रममा मेयर कार्कीले समकक्षी नोबुयासुलाई औपचारिक रुपमा भ्रमणको निम्ता दिएका हुन् ।
हस्ताक्षर कार्यक्रममा मेयर कार्कीले भने, ‘म आग्रह गर्न चाहन्छु ।ओचुकी शहरको मेयर र त्यहाँको प्रतिनिधि (डेलिगेट्स) मण्डललाई नेपालको प्रकृतिको रमणीयता हेर्नको लागि, यहाँको सर्बोच्च शिखर सागरमाथ, हाम्रो संस्कृति र रितिरिवाज, विज्ञान र प्रविधिको विभिन्न क्षेत्रमा अनुसन्धानका क्षेत्रमा भएका कार्यहरुको अवलोकन र कागेश्वरी मनोहरा नगरपालिकाको भ्रमण गर्नको लागि यहाँहरुलाई आधिकारिक रुपमा निमन्त्रणा गर्न चाहन्छु ।’
बुधबार एक कार्यक्रमकाबीच मेयर कार्की र जापानका प्रान्तीय सभाका सभापति उजुकी मासाइतोबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता कार्यक्रममा जापानका तर्फबाट ओचुकी सिटीका मेयर कोबायासी नोबुयासु अनलाइनमार्फत जोडिएका थिए भने स्पीकर प्रान्तीय सभाका सभापति उजुकी मासाइतो, आकाफुजी दाइका अध्यक्ष हिरोभी इसीओका, नेपाल-जापान फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लेखनाथ घिमिरे र कूटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात् मेयर कार्कीले जापानको ओचुकी शहरसँग कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताए । उनले जापानको ओचुकी सहर र कागेश्वरी मनोहरा नगरपालिकाबीच आपसी सहयोग आदानप्रदान र प्रवद्र्धनका लागि फ्रेण्डसिप सिटी एक्सचेन्जका लागि दुई सहरबीच भगिनी सम्बन्ध कायम गरिएको बताए ।
मेयर कार्कीले दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गरिने बताए । उनले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान पनि हुने उल्लेख गरे ।
नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरुलाई नगरपालिकाले अनुशरण गर्ने बताए ।