Hamro Sanchar

अब काठमाडौं प्लाजाबाट बन्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २० गते


Advertisement

काठमाडौं । उपत्यकाको फोहोरमैला व्यवस्थापन र ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ ।

काठमाडौंको फोहोरमैला नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आइरहेको छ । काठमाडौं महानगरको संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो ।

साइटमा प्रवेश गर्ने सवारीसाधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए । उनले भने, “स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो ।”

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएको छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराबाट साइटको निगरानी गर्न थालिएको छ । पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन ९एएनपीआर० क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने, “यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।


प्रतिकृया दिनुहोस्