Hamro Sanchar

उदयपुरमा आमा छोराको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २० गते


Advertisement

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको आज बिहान पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । ‘आमाको शव भूइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो’, वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।’

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताए ।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । उनले भने, ‘तीनसय मिटर पर मुल घर थियो गएरातिचाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।’

स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए । बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिकृया दिनुहोस्