
काठमाडौं, भदौ ६- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकमा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले स्थापना दिवसको अवसर पारी सरसफाई गरेको छ । संस्थाले १७औं स्थापनाको अवसरमा बिहिबार बिहान लक्ष्मीनारायण चोकमा अवस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा सरसफाई गरेको हो ।
संस्थाका अध्यक्ष शंकर थापाले सरसफाई कार्यक्रमको उद्घाटन गरेका हुन् । सरसफाई कार्यक्रममा संस्थामा कार्यरत कर्मचारी र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाले यस बर्षबाट सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमको कार्यक्रम गरेको अध्यक्ष थापाले बताए ।
२०६४ सालमा लक्ष्मण प्रसाद लामिछानेको अध्यक्षता तदर्थ समिति बनाएर लक्ष्मीनारायण मन्दिर परिसरमा सुकुल ओछ्याएर सेवा दिन सुरु गरेको संस्थाले गत बर्षबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।
सहकारीमा स्थानीय १ हजार ८ सय ७० भन्दा बढी सेयर सदस्य रहेका छन् भने ३० करोड रुपैयाँ बराबरको पुँजी रहेको जनाइएको छ । सहकारीले घर वा पसल-पसलमा पुगेर दैनिक बचत संकलन गर्ने र सुरुदेखि नै मासिक बचत एवं सेयर रकम वृद्धिमै बढी जोड दिएको जनाएको छ ।
सहकारीले समुदाय विकास कोष संचालन गरेको जानकारी दिँदै अध्यक्ष थापाले सम्बृद्धिको लागि स्थानीय स्तरमा सानो भएपनि टेवा पुर्याउन सफल भएको बताए । ‘स्थानीय स्तरमा बचत गराउने संस्कारको विकास गरेको छ, कमाउने र लाभांश मात्र बाढ्ने गर्दैनौ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, दैविक प्रकोपमा परेकालाई सहयोग, रक्तदान लगायतका कार्यक्रममा गर्छौ, जसको कारण आर्थिक सम्बृद्धिको लागि सानो भएपनि सहयोग पुगेको छ, भोलिका दिनमा अझ प्रगतिको बाटो सहकारी लम्कदै अघि बढ्छ’ उनले भने ।
मुलपानीकै पहिलो सहकारीका रुपमा स्थापित संस्थाले सुरुका दिनमा सहकारी सञ्चालन गर्न चुनौतिपूर्ण भएता पनि आफुहरु सफल भएको उनको भनाई छ ।
सहकारीले मन्दिरलाई डस्विन, झाडुलगायत सरसफाईका लागि आवश्यक सामग्रीहरु पनि उपलब्ध गराएको छ ।