Hamro Sanchar

बाङ्ग्लादेशमा प्रदर्शन: ९० जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २१ गते


Advertisement

काठमाडौं । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार ९० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरूको
मृत्यु भएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।

स्थिती नियन्त्रणमा लिन सरकारले साँझ छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर कर्फ्यू घोषणा गरेको हो।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ।

यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो।

तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुनस् कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।

राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ।

बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बङ्ग्लासँग बताएका छन्। फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको विवरण आएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ

आइतवारको प्रदर्शनका क्रममा करिब २०० जना मानिसहरू घाइते भएको विवरण आएका छन्।

सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन्।

यसअघिको प्रदर्शनका क्रममा २०० जना भन्दा धेरैको ज्यान गएको थियो।

बिबिसी बाट लिएको

 


प्रतिकृया दिनुहोस्