काठमाडौं, असार ७- सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।
भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका हुन् । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।
एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । माओवादी कोटाबाट डा विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् । त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन् । बैठकले रास्वपाबाट भने आज नियुक्तिका लागि सिफारिस गरेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो । सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो ।