Hamro Sanchar

भोलिदेखि मेलम्चीको पानी काठमाडौं नआउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३० गते


काठमाडौं, जेठ ३०- मेलम्चीको पानी जेठ ३१- गतेदेखि वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठुलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन ।”

२०७८ असार १ गते तथा साउन १६ र १७ गते भ्रेमथाङबाट आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स संरचनालाई तहसनहस बनाएको थियो, जुन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेदेखि उपभोक्ताको धारामा पानी पठाउन सुरु गरिएको थियो ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ ।


प्रतिकृया दिनुहोस्