
काठमाडौँ, जेठ २९- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने मागदाबी लिएको छ । उनीहरुविरुद्ध भरत ताल निर्माणको आवरणमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ ।
मेयर थापाविरुद्ध यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा २०८० चैत २८ मा पनि ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् । उक्त मुद्दाको विशेषबाट किनारा नलाग्दै थापासहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीविरुद्ध पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कसुरमा अर्को मुद्दा दायर भएको हो ।
अख्तियारमा नगरपालिकाको वडा नं ४ र १२ मा पर्ने बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरी परेको थियो ।
त्यसको अनुसन्धान टुंग्याउँदै अख्तियारले ताल निर्माण गर्दा संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजनाभित्र आयोजना र नेपाल सरकार कतैबाट पनि स्वीकृत नगराई अनाधिकृत रुपमा माछा पोखरी निर्माण गरेको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारका अनुसार नक्कली फाइलबाट गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले समेत ताल निर्माण गर्दा ५ लाख घनमिटरमात्रै ढुंगा, गिटी, बालुवालगायत निर्माणजन्य पदार्थ उत्खनन स्वीकृति दिइएकोमा त्यस विपरीत ४७ लाख घनमिटरभन्दा बढी पदार्थ उत्खनन गरेको पुष्टि हुन आएको छ ।
यो हिनामिनामा अख्तियारले ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गरी बिगो असुल, बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी लिएको छ ।
थापा माओवादीबाट निर्वाचित मेयर हुन् ।














