Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकीकृत समाजवादी : आरोप–प्रत्यारोपमा उत्रिए नेपाल र खनाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन् ।

समाजवाद अध्ययन केन्द्रले आईतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ बिषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाए ।

एउटा अध्यादेश ल्याएर जनता समाजवादी पार्टी नेपाल (जसपा)पछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्याएर सिध्याउन खोजिएको दाबी उनले गरे । ‘कम्युनिष्ट भनौदाहरु नै कम्युनिष्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’ प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौं भने हाम्रो गफले मात्र केही हुनेवाला छैन ।’

उनले कुराले चिउरा नभिझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नु पर्ने बताए । सबै खालका चुनौती सामना गर्दै सबै खालका अवसर उपयोग गर्नुपर्ने उनले बताए । जनताको विश्वास जितेर परिवर्तनको बाहक बन्नुपर्ने बताउँदै उनले एक दलीय स्थापना गर्ने समाजवाद हुन नसक्ने टिप्पणी गरे ।

अध्यक्ष नेपालले अहिले पार्टीलाई जोगाउने कुरा पहिलो प्राथमिकता भएको बताए । ‘अहिले विश्लेषण गर्दा यो पार्टीलाई जोगाउने, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, यो पार्टीलाई बलियो बनाउने दोस्रो कुरा हो । पार्टीलाई सशक्त बनाउन, नयाँ नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो’ नेपालले भने, ‘युवा भनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, जाँडरक्सीमा पूरै घैंटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता झलनाथ खनालले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष नेपालले नलेखेर खेताला लगाएको भन्दै कटाक्ष गरेका छन् । उनले महाधिवेशनमा नीति र नेतृत्व मिलाएर निर्वाचित गर्न पार्टी पंङतिसंग आग्रह गरेका छन् ।

‘एमालेसँग सैद्धान्तिक र वैचारिक भिन्नता प्रस्ट पार्नेगरी नेतृत्वले नै राजनीतिक प्रतिवेदन लेख्नुपथ्र्यो । अरुलाई खेताला लगाएर लेख्न लगाएर हुँदैन’ खनालले भने । युवा संघमा उत्पन्न विवादमा पनि उनले असन्तुष्टि व्यक्त गरे । पार्टी अध्यक्ष नेपालकै अगुवाइमा युवा संघमा समानान्तर भेला हुन लागेको भन्दै संस्थापनइतर नेताहहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

महाधिवेशनले अवसरवादी यथास्थितिविरुद्ध लड्ने नारा बोकेको उल्लेख गर्दै अहिले अघि सारिएको विचार बोकेर हिँड्दा पार्टी एमालेभन्दा भिन्न हुने उनको दाबी छ । ‘सही विचार बोकेर हिँड्दा मात्र पार्टीबाट भाग्ने हैन, अरुबाट ओइरो लाग्छ’ खनालले भने, ‘अहिले पनि जनताको बहुदलीय जनवाद बोक्नु लज्जास्पद कुरा हो । त्यसले अधोगतिमा लैजान्छ । माक्र्सवाद, लेनीनवादभन्दा पहिले जबज रे, केपी ओली र एमाले अधोगतिमा छ ।’


प्रतिकृया दिनुहोस्