Hamro Sanchar

एमाले अध्यक्ष ओलीको ठोकुवा : अर्को चुनावमा काठमाडौं जिल्ला एमालेको किल्ला हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौं, जेठ २६- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ठोकुवा गरेका छन् ।

शनिबार काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि सभासम्म एमालेले जित्ने दाबी गरेका हुन् ।

‘कान खुलेर सुनेहुन्छ । आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला,’ उनले भने ।

उनले विपक्षीहरू सबैलाई आ-आफ्नो तयारी गर्नसमेत चुनौती दिएका छन् ।

‘आफ्नो आफ्नो तयारी गरे हुन्छ । मोर्चा कसे हुन्छ । कम्मर कसे हुन्छ । घुँडा धसे हुन्छ । नेकपा एमालेले पराजित गर्छ, गर्छ । पछार्छ, पछार्छ,’ ओलीले भने ।

देशमा परिवर्तन, विकास, सामाजिक न्याय र समानताका लागि तथा संस्कृति र सभ्यताको रक्षा र विकासका लागि पनि एमालेले जित्न आवश्यक रहेको उनले बताए ।

अघिल्लो चुनावमा काठमाडौंमा अपेक्षित परिमाण ल्याउन नसकेको पनि ओलीले बताए ।

‘मेयर लगायत कतिपय धेरै ठाउँहरू हामीले हार्‍यौं । संसदीय निर्वाचन हार्‍यौं,’ उनले भने, ‘विभिन्न ठाउँका मेयर, प्रदेश सभा हारेका हौंला । एउटा निर्वाचनको कुरा हो । मोर्चाको हारले युद्धको हार हुँदैन । एउटा मोर्चामा एक अवधि हारेका हौं ।’

यद्यपि एमालेलाई हराउन खोज्नेहरूले भन्दा राम्रै गरेको ओलीले बताए ।

सबैले टेबल राखेर टेबलमाथि चढेर आफ्नो उचाइ देखाएका तर एमाले आफ्नो उचाई नापेर यस ठाउँमा आइपुगेका ओलीले बताए ।


प्रतिकृया दिनुहोस्