
काठमाडौं, जेठ २६- सिन्धुपाल्चोकका बाढी प्रभावितले मेलम्चीको पानी बर्खाका बेला काठमाडौं नलगे हिउँदमा पनि रोक्ने चेतावनी दिएका छन् । बाढीपहिरोबाट आक्रान्त आफूहरूलाई कुनै वास्ता नगरेको भन्दै स्थानीय संघर्ष समिति र राजनीतिक दलहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।
०७८ को बाढीले क्षतिग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रका प्रभावितको समस्या समाधानमा ध्यान नदिएको भन्दै स्थानीयले विभिन्न चरणमा आन्दोलन गरिरहेका छन् । हिउँदमा सहज भएको अवस्थामा मेलम्ची खोलाको पानी २६ किमि सुरुङमार्फत काठमाडौं ल्याइएको छ ।
बर्खा लाग्नेबित्तिक्कै सुरुङको पानी खोलातर्फ फर्काउने गरिएको छ । बर्खाका बेला बाढी आएर नोक्सानी गर्ने सम्भावना भएकाले पानी खोलामा फर्काउन नदिने स्थानीयको भनाइ छ ।
उनीहरूले पानी खोलामा नफर्काउन चेतावनी नै दिएका छन् ।
स्थानीय पासाङ लामाको अध्यक्षतामा सर्वदलीय संघर्ष समिति बनाएर केही महिनादेखि आन्दोलन गर्दै आएका उनीहरूले बर्खायाममा पनि काठमाडौंमा निरन्तर पानी पठान्तरण गर्न भनेका छन् ।
संघर्ष समितिका अध्यक्ष पासाङ, हेलम्बु गाउँपालिका कांग्रेस सभापति राजकुमार भण्डारी, गाउँपालिकाका एमाले अध्यक्ष बेनबहादुर पण्डित, माओवादी गाउँ कमिटी अध्यक्ष मोदनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष रामबाबु सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका हेलम्बुका प्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्षायाममा सुरुङ प्रवेश गराइएको पानी खोलातिर नफर्काउन भनिएको छ ।
स्थानीय संघर्ष समितिले सरकार र मेलम्ची आयोजनालाई विभिन्न माग राख्दै आए पनि बेवास्ता गरेको पीडितको गुनासो छ ।

















