
काठमाडौँ, जेठ २६- नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।
अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।
२६ गतेका लागि तोकिएको चुनाव अब कहिले हुने एकिन भएको छैन ।
सुर्खेतको साधारणसभाले सदस्य शुद्धीकरणबारे अध्ययन गर्न महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा महासंघका पूर्व महासचिव उजिर मगर, पूर्व सचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण रहेको शुद्धीकरण समिति बनाएको थियो ।
सो समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो । सदस्य शुद्धीकरणकै विषयलाई लिएर केही हप्ताअघि नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

















