
बारा, जेठ २६- नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताए ।
‘पार्टी कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो, अहिले हाम्रो पार्टी महाधिवेशनमा अगाडी बढ्दै छ, यो महाधिवेशनले नयाँ कार्यदिशा नीति सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्दछ’ वरिष्ठ नेता खनालले भने ‘कसले यो हल्ला फिँजाएको छ सबै बेकारको कुरा हो अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ’
नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पुर्याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने टिप्पणी गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)को आगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ । वरिष्ठ नेता खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधान लगायत ४ वटा ऐतिहासिक दस्ताबेजहरू पारित गरिने बताएका छन् ।






























