काठमाडौँ, जेठ ७- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्तिले पूर्व सहमतिलाई भड्काउने काम गरेको बताएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको उत्तेजक र अमर्यादित अभिव्यक्तिले बन्दै गएको विश्वासको वातावरण पनि बिग्रेको बताएको हो ।
यससँगै सहकारी छानबिन समितिको कार्यक्षेत्र तय गर्न गठित कार्यदलको बैठक अनिश्चित भएको छ । आइतबार उपप्रधान तथा गृहमन्त्री लामिछानेले संसदमा आफ्नो कुरा राखेपछि पुन: बसेर छलफल गर्ने तय भएपनि अहिलेसम्म कार्यदलको बैठक बस्ने बस्ने भनिएको थियो ।
तर माहौल बिग्रिएकाले अनिश्चित रहेको नेताहरूले बताएका छन् ।
लामिछानेले दिएको अभिव्यक्तिले पूर्व सहमतिलाई भड्काउने काम गरेको जनाएको छ ।
‘विश्वासको वातावरण बन्दै थियो तर गृहमन्त्रीको उत्तेजक र अमर्यादित अभिव्यक्तिले माहौल बिग्रेको छ’, कार्यदल सदस्य समेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, आइतबार साँझ नै बस्ने भनिएको कार्यदल बैठकबारे अहिलेसम्म कुनै निधो छैन ।’
नेता परियारले अव कार्यदल बैठक बसेपनि पार्टीभित्र छलफल गरेर मात्रै आफूहरू बैठकमा जाने बताए । अहिले कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बसिरहेको छ । कार्यसमिति बैठकपछि संसदीय दलको बैठक बस्दै छ ।
कार्यदलको संयोजक एमाले नेतासमेत रहेका कानुनमन्त्री पदम गिरी छन् भने सदस्यहरूमा कांग्रेसका जीवन परियार, रास्वपाका शिशिर खनाल र एमालेका महेश बर्तौला रहेका छन् ।