काठमाडौं, जेठ ७- इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पनि होलिकप्टर पूर्ण रूपमा जलेको पाइएको उल्लेख गरेको छ ।
अधिकारीहरूले राष्ट्रपति सवार हेलिकप्टर पूर्ण रूपमा जलेको पाइएको र यात्रीको मृत्यु भएको आशंका गरिएको जनाएका छन् ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।