ताइपेई, जेठ ६- ताइवानको संसद्मा सांसदहरूबीच आवश्यक सुधारको व्यवस्थालाई लिएर कुटाकुट भएको छ । ताइवानका नवनियुक्त राष्ट्रपति लाई चिंग टे संसद्को बहुमत बिना नै कार्यभार सम्हाल्नुअघि गएको शुक्रबार संसद्मा सांसदहरूबीच कुटाकुट भएको हो ।
संसद्मा सांसदहरू चिच्याउँदै एक अर्कालाई कुटपिट र धकेलाधकेल गरेका थिए । संसद्मा सुधारका लागि मतदान गर्नुअघि लेगिस्लेटिभ च्याम्बर बाहिर उनीहरू त्यसरी प्रस्तुत भएका हुन् । त्यसपछि त्यो झडप संसद्भित्र पनि चलेको थियो ।
स्तब्ध बनाउने खालका दृश्यमा सांसदहरू सभामुखको सिटतिर नजिकिएका थिए । केही टेबुलमा उक्लेर अरुलाई फ्लोरतिर तानिरहेका थिए ।
यो सबै संसद्मा अल्पमतमा रहेका राष्ट्रपति लाईले भोलि सोमबार पद वहाली हुनुअघि भएको हो । उनी जनवरीमा भएको निर्वाचनमा निर्वाचित भएका हुन् । तर, उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले संसद्मा आफ्नो बहुमत गुमाएको छ । प्रमुख प्रतिपक्षी पार्टी कोमिन्ताङ (केएमटी)को संसद्मा बढी सिट रहेको छ । तथापि, बहुमत भने छैन । त्यसैले उसले सानो ताइवान पिपुल्स पार्टी (टीपीपी)सँग कार्यगत एकता गरिरहेको छ ।
सरकारविरुद्ध उत्रिएको विपक्षीले संसद्मा गलत वक्तव्य दिने अधिकारीलाई फौजदारी अभियोग लगाउने विवादास्पद प्रस्ताव पनि अघि सारेको छ । त्यसलाई सत्तापक्षले गैरसंवैधानिक भन्दै आएको छ । शुक्रबारको झडपमा सांसदलाई अर्को सांसदले बोकेर फालेको र केही सांसदले मोबाइलले अर्का सांसदलाई हिर्काउन खोजेको दृश्य समेत देखिएको छ । सीएनएनमा आधारित