
बुटवल, जेठ ६- रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लू १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए । ‘जेब्रा क्रसिङ नेर बाटो क्रस गर्दा हानेको जस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी पण्डितले भने ।
घाइतेहरूको स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए । घटना बिहान साढे ५ बजेको हो ।
दुर्घटनाका घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।