काठमाडौँ, जेठ ५- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताएका छन् ।
उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने कोइरालाको भनाई छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् ।
उनले उपप्रधानमन्त्री लामिछाने आफैँले संसद्मा उभिएर आफूमाथि लागेको सहकारी गुठी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने समेत बताए ।
यस्तै उनले आफ्नो पार्टीले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।
उनले भने- ‘हामीले राजीनामा मागेको छैन । हामी त के भन्छौँ भने उहाँ गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैनथियौ होला । किनभने सहकारीमा त तल्लो तप्काका मानिसहरूले पैसा जम्मा गरेकाे रकम अपचलन भएको हो नि त । जनताले सडकमा उठाएका मागहरूलाई हामीले सदनमा ल्याइदिएको हो’ कोइरालाले भने, ‘निष्पक्ष छानबिन त सांसदले गर्ने होइन होला । रविजीलाई जुन कुराको चार्ज लगाएका छन् । त्यो कुरा होइन भनेर उहाँले पुष्टि गरिदिनुपर्यो । त्यो पुष्टि हुनका लागि उहाँ मन्त्री नै हुनुहोस् । उपप्रधानमन्त्री नै बसिरहनु होस् । तर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले ।’