
काठमाडौं, जेठ ४- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
हिजो (बिहीवार)को बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि असहज स्थिति उत्पन्न भएको थियो । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेलाई रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिएका थिए । यसका कारण दुई पक्षका सांसदबीच धकेलाधकेलको स्थिति उत्पन्न भयो ।
सहकारीको बचत हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि विरोध जारी राख्ने कांग्रेसले जनाएको छ । यद्यपि बैठक बस्ने, नबस्ने अन्योल पनि कायमै छ ।