काठमाडौं, जेठ ३- प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको छ ।
बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए ।
सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए । राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए ।
गृहमन्त्री उठेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच कुराकानी भएको थियो । सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन् ।
सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए ।
साथै सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।