Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३ गते


काठमाडौं, जेठ ३- कागेश्वरी मनोहरा नगरपालिकाले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ ।

नगरपालिकाले सडकमा हुने सवारी दुर्घटना, न्यूनिकरण तथा सवारी आवागमनलाई सू-व्यवस्थित गर्ने उदेश्यले चोकमा ट्राफिक आइल्याण्डको स्थापना, व्रेथ लाइजर मेसिन (मापसे चेक गर्ने), सडकमा राख्न प्रयोग गरिने आवश्यक ट्राफिक संकेत र चिन्हहरु, जेब्राक्रसमा राख्ने रोड डिभाइडर, ट्राफिक कोण र जथाभावी पार्किंङ गर्नेलाई नियन्त्रण गर्न व्हिल लक र बडीओन क्यामेरा(ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई नियमन गर्न र प्रमाण संलग्न गर्न)लगायतका सामाग्री हस्तान्तरण गरेको गरेको हो ।

नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि मेयर उपेन्द्र कार्कीले बौद्ध ट्राफिक प्रहरी बृत मातहतमा रहेका ट्राफिक प्रहरी प्रभाग तथा बिटहरूका लागि ट्राफिक व्यवस्थापनसँग सम्वन्धित सामाग्रीहरू अतिरिक्त प्रहरी निरिक्षक दिपक थापालाई हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीका अतिरिक्त प्रहरी निरिक्षक दिपक थापाको प्रमुख आथित्यतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा उपमेयर शान्ता थापा, प्रहरी नायव महानिरीक्षक पोषराज पोख्रेल, प्रहरी बरिष्ठ उपरीक्षक बसन्त रजौरे, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको बिशेष आतिथ्य रहेको थियो भने महानगरीय प्रहरी वृत्त बौद्धका नायव उपरीक्षक राजु पाण्डे, वडा नम्बर ५ का वडाअध्यक्ष शंकर पाण्डे, ७ का भीमसेन थापा, ८ का हरिभक्त पुडासैनी, ९ का अनिल थापालगायत बिभिन्न प्रहरी वृत्तका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै हस्तान्तरण कार्यक्रमका सभापति एवम् मेयर कार्कीले सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई सू-व्यवस्थित गर्न प्रहरीसँगको सहकार्य आवश्यक ठानेर सामाग्रीहरु उपलब्ध गराएको बताए । सुरक्षाका बिषयमा पनि ट्राफिक प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरेर ट्राफिक ब्यबस्थापनमा आफुहरु तयार रहेको उनको भनाइ थियो ।  ‘हामी सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई सू-व्यवस्थित गर्न प्रहरीसँगको सहकार्य गर्न आवश्यक ठानेका छौं । त्यसको लागि कहाँ, कस्तो खालको सिसिटिभी क्यामेरा र बत्ति आवश्यक पर्छ हामीले त्यसको अध्ययन सकेको छौं । सहरी सुरक्षालाई मध्यनजर गरेर करिब १५ करोड खर्च गरियो भने क्यामेरा र बत्तिको काम राख्ने कार्य गर्न सक्ने रहेछौं ।’ उनले भने ।

साथै उनले प्रहरी भवन निर्माणका लागि जग्गा आवश्यक परेको खण्डमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराए ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नगरपालिकाले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक उपकरणहरु प्राप्तिमा नगरपालिकाले गरेको पहल एवम् अग्रसरताप्रति आभार व्यक्त गरे । उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नाका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवं प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

सम्बोधनका क्रममा थापाले नगरपालिकाका काँडाघारी, थलीको प्रहरी चौकीको स्तरोन्नति गरिने र बौद्ध प्रहरी वृत्तको भवन कागेश्वरी मनोहरामा बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाको थली चोकमा स्थापना गरिएको ट्राफिक आइल्याण्डको एआईजी थापा र मेयर कार्कीले गरे संयुक्त उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा नम्बर-५ का वडाअध्यक्ष शंकर पाण्डे, प्रहरी नायव महानिरीक्षक पोख्रेल र उपमेयर थापाले बोलेका थिए ।

नगरपालिकाका जिन्सी शाखा प्रमुख रामेश्वर दाहालले संचालन गरेको कार्यक्रममा प्रहरी निरीक्षक लेखनाथ मैनालीले स्वागत मन्तब्य दिएका थिए ।

यो पनि- काँडाघारी र मुलपानी ट्राफिक प्रहरी पोष्टलाई ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण


प्रतिकृया दिनुहोस्