Hamro Sanchar

काँडाघारी र मुलपानी ट्राफिक प्रहरी पोष्टलाई ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण

प्रदिप नेपाली प्रकाशित : २०८० फागुन, २१ गते


Advertisement

काठमाडाैं, फागुन २१- महानगरीय ट्राफिक प्रहरी प्रभाग काँडाघारी र मुलपानी अस्थायी ट्राफिक प्रहरी पोष्टलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को संयोजन तथा वडा नम्बर ६,७,८ र ९ को अनुरोधमा नगरपालिकाले ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराएको हो ।

वडा नम्बर ७ को कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी ‘नो पार्किङ बोर्ड, रोक्न निषेध बोर्ड, ट्राफिक कोन, ठुलो डिभाइडर, रोक, हेर, जाउ, सानो र ठुलो व्हिल लक्, व्हिल लक् मोटरसाइकल र मापसे परिक्षण मेसिन प्रदान गरिएको हो ।

उक्त उपकरण वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल, वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापा र वडा नम्बर ८ का वडाअध्यक्ष हरिभक्त पुडासैनीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । प्रदान गरिएका उक्त उपकरणले नगरपालिकाका ६,७,८ र ९ वडाका ट्राफिक ब्यबस्थापनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा नम्बर ७ का वडाअध्यक्ष थापाले बढ्दो सवारी साधनका कारण भइरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनधिकृत पार्किङलाई निरूत्साहित एवम् नियन्त्रण गर्न ट्राफिक प्रहरीको अनुरोधमा वडाको संयोजन तथा नगरपालिकाको सहयोगमा पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताए । उनले केहि दिनमै ट्राफिक प्रहरी, सार्वजनिक यातायात ब्यबसायी संघ, चालक, सहचालकसहित स्थानीय उपभोक्ता समितिसँग छलफल राखेर स्थायी समस्या समाधानका बिषयमा पहल थाल्ने बताए ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष फुयालले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन आफुहरु प्रतिबद्ध रहेको बताउँदै आफुले व्यक्तिगत रुपमा पनि यातायात व्यवस्था बिभागमा समन्वय गरिरहेको केहि दिनमै केहि उपकरणहरु उपलब्ध हुने जानकारी गराए । भने उनले उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत गरे ।

यसैगरी वडा नम्बर ८ का वडाअध्यक्ष पुडासैनीले वडाभित्र तीब्र रुपमा जनघनत्व बढिरहेको र त्यसको प्रभावले सवारी साधन पनि अत्यधिक बढेको बताए । उनले अनधिकृत रुपमा पार्किङ गर्ने र सार्वजनिक तथा निजी गाडी रोडमै छोड्ने प्रवृत्तिले दुर्घटना बढेको भन्दै त्यसको न्यूनीकरणका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।

ट्राफिक प्रहरी प्रभाग काँडाघारीका प्रमुख अर्जुन प्रसाद भुसालले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक उपकरणहरु प्राप्तिमा गरेको पहल एवम् अग्रसरताप्रति आभार व्यक्त गरे । उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नाका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवं प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

यस्तै मुलपानी अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक दिल बहादुर खड्काले पछिल्लो ८ महिनामा नियम मिच्ने १२ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्