काठमाडौँ, बैशाख ३०- एक सयको नोटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयविरुद्ध बोलेर विवादमा आएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा नेपालले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिइन् ।
राष्ट्रपति पौडेलले नेपाललाई स्पष्टिकरण सोधेका थिए। त्यसपछि उनले राजीनामा दिएका हुन् ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि उनले त्यसमा असन्तुष्टि जनाएका थिए । उनले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यता बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको तर्क गरेका थिए ।
यद्यपि यसअघिको सय रुपैयाँको नोटमा गभर्नर रहँदा नेपालकै हस्ताक्षर छ । सोही पुरानो नक्सालाई परिवर्तन गरी सरकारले नयाँ नक्सासहितको नयाँ नोट ल्याउने निर्णय गरेको हो । नेपालको अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष ओलीले नेपालको बोली राष्ट्रपतिकै हो वा नेपालको हो यसबारे प्रष्ट पार्नुपर्ने राष्ट्रपतिलाई प्रश्न गरेका थिए ।