काठमाडौँ, बैशाख २९- प्रमुख प्रतिपक्ष कांग्रेसको पदाधिकारी बैठकले सहकारीको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने निष्कर्ष निकालेको छ ।
सरकार संसद् चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भएको भन्दै कांग्रेसले आफ्नो अडान कायमै राख्ने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकबाट कांग्रेसले संसद्मा कसरी अगाडि बढ्ने भन्ने थप निर्णय लिनका लागि सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
सरकारले संसद् पनि चल्न नदिने र उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति पनि बन्न नदिने रणनीति लिएको भन्दै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा नेताहरूले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणको लागि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् बैठक चल्न नदिने अडान कायमै राखेका थिए ।
सहकारीको करोडौंको रकम ठगी भएको कांग्रेसले निष्कर्ष निकालेको छ ।