काठमाडौं, बैशाख २९- उपत्यका मेयर्स फोरमले स्मार्ट सिटीको नाममा लामो समयदेखि स्थानीयको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा मध्यपुर थिमी नगरपालिकाको गठ्ठाघरमा शुक्रबार सम्पन्न आठौँ बैठकले लामो समयदेखि जग्गा रोक्का हुँदा जनताले दुख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा नेपाल नगरपालिका संघ बागमती प्रदेश अध्यक्ष तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीसहित उपत्यका मेयर्स फोरमका उपाध्यक्ष तथा सुर्यबिनायक नगरपालिका मेयर वासुदेव थापा, सचिव घनश्याम गिरी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक प्रसाद रिसाल लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।
स्मार्ट सिटीको विषयमा अहिलेसम्म के-के काम भइरहेको छ भन्ने जानकारी सम्बन्धित नगरपालिकाले समेत नपाएको कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले बताए ।
‘जनताको जग्गा तीन वर्षको लागि रोक्का राखिएकोमा सात वर्ष बित्तिसक्दा पनि न स्मार्ट सिटीको काम अगाडि बढेको छ न रोक्का जग्गा फुकुवा नै भएको नै छ, यसले गर्दा जग्गाधनीहरुले अंशवन्डादेखि किनबेच गर्न नपाउदा अत्यन्तै मर्कामा छन् । त्यसको सबैभन्दा ठूलो दबाब स्थानीय तहलाई परेको छ’, मेयर कार्कीले भने ।
गत मंगलबार मात्रै रोक्का जग्गा तत्काल फुकुवाको माग गर्दै उपत्यकाका जनप्रतिनिधिहरुले सहरी विकास मन्त्री धन बहादुर बुढाको ध्यानर्कषण गराएका थिए ।
सरकारले २०७४ बैशाख २४ गते काठमाडौं उपत्यकाको चार क्षेत्रमा नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले यसअघि अर्थमन्त्रीसँग भएको समझदारी विपरीत नेपाल प्राधिकरणले विद्युत लाईन काट्न पत्राचार गरेको र केहि नगरपालिकामा भने विद्युत् लाईन काटिएको भन्दै आपत्ति जनाएको छ ।
प्राधिकरणले हचुवाको भरमा लाईन काटेको भन्दै यो विषय नटुंगिएसम्म संघर्ष जारी राख्ने निर्णय मेयर्स फोरमले गरेको छ ।
बैठकले स्थानीय सरकार सञ्चालन ऐनको संशोधन सम्बन्धमा यथेष्ट गृहकार्य गरेर सरकारलाई बुझाउने र स्थानीय तहका विभिन्न विषयमा जानकारी गराउन प्रधानमन्त्रीसँग भेटेर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।