काठमाडौं, बैशाख २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।
शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए ।
‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’ लामिछानेले थापालाई भनेका छन् ।