Hamro Sanchar

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फेरि फुट्यो, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २७ गते


Advertisement

काठमाडौं, वैशाख २७- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ ।

जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा मिसाएका थिए ।

गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सात जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी गठन भएको थियो । गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो ।

पार्टी विभाजनबाट असन्तुष्ट रहेको लावतीलगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका छन् । सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्षसमेत उनीहरूको छ ।

आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ ।

उनीहरूले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलगिएर पहिचानवादी मोर्चा घोषणा गरिएको बताए ।

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउने प्रयास गरिने मोर्चाले बताएको छ ।


प्रतिकृया दिनुहोस्