
काठमाडौं, वैशाख २०- मध्यरातमा घरमा आगलागी हुँदा धादिङमा एक वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो ।
आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको सो कार्यालयले जनाएको छ । उनीहरूका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् ।
ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ ।
थाक्रे गाउँपालिका-५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ ।
वडाध्यक्ष तामाङका स्थानीयले पानी ओसारेर आगो निभाएका थिए ।

















