Skip

Hamro Sanchar

छानबिन समितिले भन्यो- ‘दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियार देशभर लैजान मिल्दैन’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


काठमाडौं, वैशाख १७- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियार देशभर लैजान नमिल्ने छानबिन समितिले निष्कर्ष निकालेको छ छ ।

छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठित समितिले सोमबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा पनि देशभर लैजान पाउने गरी इजाजत नदिइएको उल्लेख रहेको गृहमन्त्रीको सचिवालयको भनाइ छ ।

प्रतिवेदनमा देशभर हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत सुझाव दिइएको छ ।

व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस प्रतिवेदनमा छ ।

गृहमन्त्री लमिछानेले प्रतिवेदनले औंल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताएका छन् ।

व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिन चैत १५ गते गृह मन्त्रालयका सहसचिव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो ।

 


प्रतिकृया दिनुहोस्