Hamro Sanchar

मेयर कार्कीद्धारा जीर्णोद्धार गरिएको सीताराम रामेश्वर धाम मन्दिरको उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ५ गते


Advertisement

काठमाडौं, बैशाख ५- कागेश्वरी मनोहरा नगरपालिका ८ मा पुनः निर्माण र जीर्णोद्धार गरिएको सीताराम रामेश्वर धाम मन्दिरको उद्घाटन गरिएको छ । रामनवमीको अवसर पारेर बुधबार मन्दिर उद्घाटन गरिएको हो ।

नगरपालिकाको १२ लाख सहयोग र स्थानीयबाट चन्दा स्वरूप प्राप्त २२ लाख गरि ३४ लाखमा जीर्णोद्धार गरिएको मन्दिरको नगरपालिकाका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरेका हुन् । २०४६ सालमा निर्माण गरिएको पुरानो मन्दिर क्षेत्रको शिव मन्दिर, राम मन्दिर, कम्पाउण्ड, मूल गेट निर्माण र ढुंगा ओछ्याउने कार्य सम्पन्न गरेको मन्दिर ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले मन्दिर पुनः निर्माणका लागि सहयोग उपलब्ध गराएको स्मरण गराउदै आगामी दिनमा पनि मन्दिर संरक्षणको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए । उनले यस्ता इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिँदै मन्दिर ब्यबस्थापन समिति र चन्दादातालाई धन्यवाद दिए । नयाँ मन्दिर बनाउनुभन्दा पनि अब पुराना र इतिहास बोकेका मन्दिर र त्यस्ता ठाउँको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

मेयर कार्कीको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा उपमेयर शान्ता थापा, वडा नम्बर ८ का वडाअध्यक्ष हरिभक्त पुडासैनी, वडा नम्बर १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

मन्दिर पुन:निर्माण पूर्ण रुपमा सम्पन्न भै नसकेकाले अझै केहि रकम आवश्यक रहेको ब्यबस्थापन समितिले बताएको छ ।


प्रतिकृया दिनुहोस्