Hamro Sanchar

कागेश्वरी मनोहराका सहकारीलाई दिइयो कर्जा लगानी तथा ऋण असुली व्यवस्थापन तालिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १९ गते


Advertisement

काठमाडौं, चैत १९- कागेश्वरी मनोहरा नगरपालिकाका सहकारीहरुलाई कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम दिइएको छ । नगरपालिका र सहकारी हकहित राष्ट्रिय समाजको संयुक्त आयोजनामा नगरपालिकाभित्र संचालित र प्रदेश अन्तर्गतका सहकारीलाई सोमबार १ दिने तालिम दिइएको हो ।

सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, जमानत लगायत संभावित जोखिम कम गर्न सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

तालिममा ऋण लगानीका प्रक्रियाहरु, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरु, ऋणको वर्गिकरण, ऋण असुलीका उपायहरु, भाखा नाघेको ऋण असुली गर्ने तरिका लगायतका विषयमा नेपाल सरकारका पुर्व उपसचिव एवं सहकारी प्रशिक्षक केशब बहादुर थापाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख उपेन्द्र कार्कीले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्नु पर्नेमा जोड दिए । सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको भएपनि सहकारीले उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाई थियो ।

न्यूनआय स्तर भएका मानिसहरुको जीवन स्तर उकास्नको लागि सहकारीहरुको दायित्व भएपनि सहकारीलाई घेराभित्र राखेर सिमित व्यक्तिमा मात्र लगानी गर्नाले जनस्तरमा राम्रो सेवा दिन नसकेको भन्दै नगरप्रमुख कार्कीले असन्तुष्टि व्यक्त गरे । उनले व्यवसायीक र रणनीति योजना निर्माण गरी सहकारी संस्थाहरुलाई क्रियाशिल बन्नुपर्नेमा जोड दिँदै सहकारीहरु आम नागरिकको सारथीका रुपमा अघि बढ्नुपर्ने बताए । सहकारीमा आम नागरिकको पहुँच स्थापित गरी अघि बढ्न सके मात्रै सहकारी अभियानले फड्को मार्ने नगरप्रमुख कार्कीको भनाई छ ।

स्थानीय सरकारको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिए । नगरपालिकाले एक सहकारी न्युनतम एक उद्यमशीलताको नीति ल्याएको बताउदै नगरप्रमुख कार्कीले यस बर्षबाट नगरपालिकाले पहिचान गरेका नयाँ क्षेत्रमा बचतको न्युनतम ५ प्रतिशत लगानी गर्नुपर्ने बताए ।

पछिल्लो समय नगरपालिकाको सहकारी साखाले संयन्त्र बनाई नगरभित्र संचालित सहकारीहरुको अनुगमन र नियमन गरिरहेको छ ।

यस्तै नगरपालिकाका सहकारी साखाका प्रमुख बिश्वास ज्ञावालीले वित्तीय कारोबार गर्ने सहकारीहरुले ऋण लगानी र असुलीका विधि प्रक्रिया र अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिए । तालिममा सिकेका कुरा आ–आफ्नो संस्थामा लगेर कार्यान्वयन गर्न सुझाव दिदै उनले ऋणको जोखिम न्यूनिकरण गर्न सके सहकारीको समस्या सहजै समाधान हुने धारणा राखे ।

कार्यक्रमका सहभागीहरुले सहकारीमा वचत फिर्ताको चाप बढ्दै जादा ऋणी सदस्यहरुलाई भुक्तानीको चाप बढ्ने भएकाले सतर्क रहन आव्हान गरेका छन् ।

तालिममा नगरपालिकी उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, समाजका महासचिव बाल कुमार बास्तोलाको बिशेष आतिथ्य रहेको थियो ।

सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोबिन्द गिरिको अध्यक्षतामा नगरपालिकाको राधाकृष्ण हलमा भएको तालिमलाई समाजका सचिव ऋषिराज ढकालले संचालन गरेका थिए ।


प्रतिकृया दिनुहोस्