Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीको विश्वास : उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १७ गते


काठमाडौं, चैत १७- सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्ता साझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम-२ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो ।

सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडाैँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे ।

प्रतिष्पर्धा गर्न सक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि त्यस्तो अवस्था नरहेको दाबी गरे ।

‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौं । त्यतिबेला कांग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिंगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस । त्यतिबेला हामीले हराइदिएका थियौं । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन । हामी जित्छौं ।’ उनले भने ।

अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गरे । त्यस अवसरमा उनले आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।


प्रतिकृया दिनुहोस्