
चितवन, चैत ११- फागु पर्व, आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ ।























