Hamro Sanchar

किसानलाई दूधको बक्यौता तिर्न डीडीसीले पायो ३० करोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ३ गते


काठमाडौं, चैत ३- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ पनि उपलब्ध गराएको छ ।

डीडीसीलाई ३० करोड सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपैयाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।

दूध तथा दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी दिन नसकेको भन्दै डीडीसीले कृषि मन्त्रालयसँग सहुलियत ऋण माग गरेको थियो ।

मन्त्रालय सम्हालेकै दिन मन्त्री ज्वालाकुमारी साहले दूध उत्पादकको बक्यौता रकम उपलब्ध गराउन पहल गर्ने बताएकी थिइन् । कृषिमन्त्री साहले शुक्रबार नै अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेकी थिइन् । छलफलपछि अर्थ मन्त्रालयले ३० करोड उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।

डीडीसीले करिब एक अर्ब रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाले सरकारबाट ऋणमा पाएको ३० करोड रुपैयाँबाट किसानलाई भुक्तानी दिने बताए । मौज्दात रहेका समान बिक्री भएपछि सरकारको ऋण तिर्ने उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्