काठमाडौं, फागुन ३- विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्त लगायतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार मुद्दामा बिहीबार फैसला गरेको हो ।
पूर्व सचिव छविराज पन्त, दिप बस्न्यात लगायत मन्त्रिपरिषदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै भ्रष्टाचर गरेको ठहर गरेको हो । उनीहरूलाई २ वर्ष कैद र ८० लाख जरिवाना सुनाएको छ ।
सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, राम सुवेदी, शोभाकान्त ढकाललाई पनि भ्रष्टाचार गरेको ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवाना गरेको छ ।
उनीहरूलाई जस्तै कसुर गरेको अभियोग लागेका मन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई भने सफाइ दिएको छ । उनीहरूले नीतिगत निर्णय गरेको भन्दै सफाइ दिएको हो । पूर्व सचिव दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन् ।