
काठमाडौं, माघ २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिरमा धार्मिक पर्यटन महोत्सव हुने भएकाे छ । कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन समितिले फागुन ७ गते १०औं धार्मिक पर्यटन महोत्सव आयोजना गर्न लागेको समितिका सचिव पुस्कर प्याकुरेलले हाम्रोसंचारलाई जानकारी दिए ।
महोत्सवमा बढीभन्दा बढी भक्तजन भित्र्याउन प्रचारप्रसार तिब्र पारिएको छ ।
महोत्सवमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, कीर्तन, विभिन्न साहित्यिक कार्यक्रम एवं झाक्रीहरू प्रस्तुत गरिनेछ ।
महोत्सव सफल पार्न नगरपालिकाका मेयर उपेन्द्र कार्कीको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिमा ९ वटै वडाका वडाअध्यक्षहरु रहेका छन् ।
कागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिरबाट पूर्वीउत्तरतर्फ पर्छ । लिच्छवीकालीन गणेश मूर्ति र गुफा पनि यहाँको आकर्षणको केन्द्र हो । यहाँका धार्मिक एवम् पर्यटकीयस्थललाई चिनाउन २०७२ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते महोत्सव आयोजना गर्ने गरिएको छ । चतुःषष्ठी लिंगमध्येको ३४औँ लिंगका रूपमा समेत मानिने कागेश्वरीमा प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ कान पतन भएको कथा पुराणमा व्याख्या गरिएको छ ।
लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको कागको मूर्ति निर्माण भएको छ । यो विश्वकै सबैभन्दा ठूलो कागको मूर्ति भएको बताइएको छ । धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण यो स्थल प्राकृतिकरूपमा पनि आकर्षक छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरीबाट उपत्यकाको सुन्दर दृश्य देखिन्छ ।
























