
काठमाडौं, माघ २८- नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब २ बजे आगलागी भएको हो । प्रहरीकाअनुसार सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको हो ।
आगलागी भने नियन्त्रणमा आइसकेको छ । प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ । आगलागी भएपछि प्रहरी वृत्त बानेश्वर र अग्नी नियन्त्रकको टोली घटनास्थलमा पुगेका थिए ।
आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो । आगलागीबाट निवासमा क्षति पुगेको छ । मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । आगो नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग गरिएको थियो ।