
इनरुवा, माघ २३- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए ।
मुखिया परिवारले छोरी रञ्जु कुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो । सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरू आउनेक्रम सुरू भइसकेको थियो । छरछिमेकीहरू पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो ।
गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए । तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ ।
गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात परेको हो । रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ ।
घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए । घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको उनले बताए । बिहेको एक दिनअघि मात्र भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो ।
पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ जनाको मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ ।
अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ ।