
दोलखा, माघ २२- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित ‘हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था’बाट ३२ लाखभन्दा बढी रकम चोरी भएको छ ।
सहकारीबाट गत सोमबार राती कार्यालयमा रहेको सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार दुई सय ७६ नगद चोरी भएको हो । सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरीसमेत गरेका छन् ।
तर संस्थाले गत साउनदेखि नै बचतकर्ताको जम्मा गरेको रकम सहकारीको कार्यालयमै राखेको खुलासा भएको छ । आथिक बर्ष २०८०/८१ सुरु भएदेखि नै बचतकर्ताले जम्मा गरेको रकम सहकारीको कार्यालयमै राखिएको खुलासा भएको हो । यस्तै सहकारीले यस बिचमा ऋण माग्न आउने सदस्यहरु कसैलाई लगानी नगरेको बुझिएको छ ।
कुनै पनि सहकारीमा त्यति धेरै रकम एकै पटक भल्ट (सेफ) मा राख्न पाँइदैन । राख्नुपरे पनि किन राख्ने हो, कारणसहित संचालकको निर्णयसहित बिमा गरेर राख्नुपर्ने प्रावधान रहेको छ । तर यति धेरै रकम बैङ्कमै नराखी भल्टमा राख्दा, ऋण माग्न आउने सदस्यहरु कसैलाई लगानी नगर्नु, त्यसमाथि सहकारीका व्यवस्थापकले ३ वटा भल्टको चाबी कार्यालयमै राखेर जानु, चोरी हुँदा सँगैको कोठामा सुतिरहेका घरबेटीले समेत थाहा नपाउनेगरी पाँच/पाँच ओटा ताला फोरेर छोटो समयमै लाखौँ रकम चोरी हुनु जस्ता कुराले घटना शङ्काको विषय बनेको छ ।
संचालक समितिका एक सदस्यकाअनुसार भल्टको ३ वटा चाबी रहेका छन् । यदि एउटा मात्र चाबी कर्मचारी, ब्यबस्थापक वा संचालक समितिका कसैले बोकेको भए भल्टको चाबी खुल्ने थिएन ।
सोमबार सहकारीको कार्यालय परिसरमा सेयर सदस्यहरु भेला भएर माइनेटीङ् उठाएका छन् । स्थानीय ललित बस्नेतकाअनुसार प्रहरी प्रशासनलाई छानबिनमा सहयोग गर्ने उदेश्यले ७ सदस्यीय सरोकार समितिसमेत गठन गरिएको छ । उक्त समितिले नेपाल प्रहरी र सरोकारवालासँग घटना बारे जानकारी गराउने र समन्वय गर्ने काम गर्छ ।
यसअघि प्रहरीले संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपाने र व्यवस्थापक महेन्द्र भुजेललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । उनीहरुलाई सहकारीका अध्यक्ष छत्रराज उप्रेती सहितका सञ्चालक र अन्य व्यक्तिहरुको उपस्थितिमा बुधबार नै तारेखमा छाडिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले हाम्रोसंचारलाई जानकारी दिए ।
डिएसपी खड्काकाअनुसार पक्राउ परेका दुई जनामध्ये न्यौपाने सूर्याेदयका पूर्व कोषाध्यक्ष र संस्थालाई घर भाँडामा दिने घरबेटी हुन् भने भुजेल लामो समयदेखि संस्थामा व्यवस्थापकको जिम्मेवारीमा रहेका थिए ।
प्रहरीले चोरीको भएको घटनालाई शंकास्पद रुपमा लिएको र संस्थाका अन्य सञ्चालक र कर्मचारीलाई समेत निगरानीमा राखी सोधपुछ गरिरहेको जनाएको छ ।
कुल २२ सय सेयर सदस्य रहेको सहकारीमा पछिल्लो समय घटेर १३ सयमा झरेको छ ।
पवटीमा पछिल्लो समय चोरीका घटना बढ्दै गैरहेका छन् । सोहि दिनपनि ४ वटा घरमा चोरी भएको बताइएको छ भने केहिदिन अघि मात्रै घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थियो ।
यो पनि पढ्नुहोस्- सूर्याेदय सहकारी चोरी प्रकरण : नियन्त्रणमा लिएका तारेखमा छुटे, के गर्दैछ प्रहरी ?