Hamro Sanchar

गान्धी आदर्शले मनायो ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २२ गते


Advertisement

काठमाडौं, माघ २२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीमा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयले ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायको सभाध्यक्ष तथा नगरप्रमुख कार्कीकाे प्रमुख आतिथ्यता, नगर उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख गोबिन्द प्रसाद शर्मा, वडाअध्यक्ष अनिल थापा तथा प्रधानाध्यापक गणेश चन्दको बिशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयका संस्थापक सदस्य तथा समाजसेवी र अभिभावकहरुको आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख कार्कीले विद्यालयमा जडान गरिएको शुद्ध खानेपानी र सिसिटिभीको उद्घाटन गरेका थिए । प्रमुख कार्कीले विद्यार्थीको माग बमोजिम नगरपालिकाले खानेपानी र सिसिटिभी जडान गरेको बताए । उनले विद्यार्थीहरुले खानेपानीको ब्यबस्थापन गरिदिन अनुरोध गरेपछि करिब २४ सय विद्यार्थी माग सम्बोधन गर्दै गरिएको जानकारी दिए । उनकाअनुसार उक्त खानेपानी बजारमा वितरण गरिने जारको पानीभन्दा शुद्ध रहेको छ ।

यस्तै विद्यालयमा कक्षा कोठा र विद्यालयका ठाउँ ठाउमा ५१ वटा सिसिटिभी जडान गरिएको छ । यसले मोनिटरिङलाई सजिलो हुने नगरप्रमुख कार्कीको भनाई छ । उनले नगरपालिका शैक्षिक क्षेत्रलाई सुधार गर्न गर्न लागि परेको र वडाहरुलाई पनि शैक्षिक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिरहेको बताए । शिक्षा क्षेत्रमा ‘संस्कार सहित शिक्षा’ प्रदान गर्ने कार्यमा सफलता हासिल गरिरहेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायले विद्यार्थीको संख्या उल्लेख्य रहेको बताउदै विधार्थीका चाहनाअनुसार कार्यहरु अघि बढाएको जानकारी दिए । उनले बालमैत्री डेस्कबेन्च, इन्टरनेट, सुविधायुक्त पुस्तकालय, चमेनागृह रहेको बताए ।

नगरपालिका र वडा कार्यालय विद्यालय प्रति थप जिम्मेवार भएको र अबका दिनमा पनि विद्यालयलाई थप सुधार र प्रतिफल ल्याउनेमा केन्द्रित रहेको प्रधानाध्यापक चन्दले बताए ।


प्रतिकृया दिनुहोस्