काठमाडौं, माघ १७- राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे राजनीतिक झेल गरी भ्रम फैलाएको बताएपछि ओली–प्रचण्डले एकसाथ पुनः छानबिन गर्ने अभिव्यक्ति दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले तेजाबपीडित मुस्कान खातुनको कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको बताउँदै तत्कालीन छानबिन समितिमाथि प्रश्न उठाएका थिए ।
उनले हत्याको प्लट पहिला नै तयार पारिएको बताएका थिए । पूर्वराजा ज्ञानेन्द्र यस वर्ष एकपछि अर्को गरी सार्वजनिक कार्यक्रममा हिँड्ने र व्यवस्थामाथि नै प्रश्न उठाउने, राजा आऊ देश बचाऊ भन्ने एउटा जमातलाई थप उत्तेजित पर्ने गरी अभिव्यक्ति दिन थालेपछि ओलीले बेलाबखत ‘काउन्टर’ दिँदै आएका छन् ।
पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक रूपमै राजनीतिक जालझेल भएको बताएका थिए । ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए,’ दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले वीरगन्जको कार्यक्रममा भनेका थिए ।
त्यही क्रममा एमाले अध्यक्ष ओलीले २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्र कायम रहेकोमा २०५८ सालमा जघन्य र अकल्पनीय दरबार हत्याकाण्ड भएको बताएका थिए ।
सबैभन्दा धेरै सुरक्षा घेरामा रहेको राजाको वंशविनाश हुनु आधुनिक समयको भयानक षड्यन्त्र भएको बताउँदै उनले दरबार हत्याकाण्डको प्लट पहिल्यैदेखि तयार पारेर राखिएको र सुटिङ हुनेबित्तिकै रिलिज भएको दाबी गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।