Hamro Sanchar

भिजिट भिसा सेटिङ प्रकरण : अध्यागमनका ८ अधिकृतविरूद्ध पक्राउ पुर्जी जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १४ गते


काठमाडौं, माघ १४- सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहसम्बन्धी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ ।

नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालयदेखि वायु सेवा निगम र प्रहरीलाई पनि पक्राउ गरेको थियो ।

अनुसन्धानपछि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । केही दिन अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।

अहिले प्रहरीले १० जनालाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा प्रहरीले अध्यागमनका अधिकृतसहित ११ जनालाई सूचीमा राखेको छ । जसमा ८ जना अध्यागमन अधिकृत छन् ।

परिसरको हिरासतमा ट्राभल एजेन्सीका सञ्चालक, नेपाल वायु सेवा निगमका कर्मचारी र अध्यागमन अधिकृत छन् । अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो ।

उनीसँगै प्रहरीले वायुसेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेल पनि पक्राउ गरेको थियो ।

अध्यागमन अधिकृत खड्‍कामाथि सोधपुछ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अन्य अधिकृतको समेत मिलेमतो रहेको खुलेको थियो । ‘नरवीरले यसमा म मात्रै होइन अन्य थुप्रैको संलग्नता छ भनेपछि अधिकृतहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको हो,’ प्रहरी स्रोतले भन्यो ।

अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । पछिल्लो समय नरवीरको नेतृत्वमा उक्त काम भइरहेको स्रोत बताउँछ ।

यद्यपि तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवरले भने नरवीरभन्दा अगाडि देखि सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने काम चलिरहेको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘ताराबहादुरले काम गरिरहेका थिए । उनको गृहमा सरूवा भएपछि नरवीर गए, उनले नै यसलाई निरन्तरता दिए,’ प्रहरी स्रोतले भन्यो ।

अहिले पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना बिचौलियाहरू छन्, उनीहरू पनि फरार छन् । विमानस्थलमा कार्यरत अधिकृतहरूले भिजिट भिसामा विदेश पठाउनको लागि प्रति व्यक्ति ४४ देखि ५५ हजारसम्म लिने गरेको अनुसन्धानबाट खुलेको थियो ।

कागजपत्रदेखि होटल मिलाएबापत् ट्राभल कम्पनी र कन्सल्टेन्सीले एक जनाबाट १० देखि १५ हजार, निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो ।

यसमा संलग्न रहेका एक जना प्रहरीलाई कार्यालयले यसअघि नै पक्राउ गरिसकेको थियो ।

गत असोजमा विदेश जान खोजेका धेरै जनाका कागजातहरू नक्कली रहेको खुलेको थियो । नक्कली कागजातहरू बरामद गरी अनुसन्धानका लागि विमानस्थल प्रहरीमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएको थियो ।

सुरूमा असोज १७ गते १५१३ वटा कागजातहरू बरामद भई कार्यालयमा पठाएको थियो । त्यसपछि पनि पटकपटक नक्कली कागजातहरू बरामद हुन थालेपछि अनुसन्धान अघि बढाएको थियो ।

कार्यालयका डिएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान अघि बढाएको थियो । जसक्रममा अध्यागमन अधिकृत समेतको मिलेमतो खुलेको हो ।


प्रतिकृया दिनुहोस्