
काठमाडौं, माघ १४- काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् ।
विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए । महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैंले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्दछ । तर कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।
उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टु मा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ ।













