
दोलखा, माघ ९- स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि शुरु भएको छ । तामाकोसी नदी आसपासमा यसअघि बालुवा तस्कर गर्नेहरू सल्बलाउन थालेपछि प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर अवैध उत्खनन् कार्यलाई यथाशिघ्र रोक्न स्थानीयले अनुरोध गरेका छन् ।
मेलुङ गाउँपालिका वडा नम्बर ७ ज्यामिरेस्थित पुष्पलाल राजमार्गसँगै जोडिएको तामाकोशी नदी किनारको बालुवा कानुन विपरित उत्खनन् भएकाले ज्यामिरे बस्ती, डुम्रे बस्ती, डुम्रे-सित्तली सिंचाई कुलो र पुष्पलाल राजमार्गलाई समेत समस्या भएको भन्दै स्थानीयले अनुरोध गरेका हुन् ।
बिगत ४ बर्ष अगाडी मेलुङ गाउँपालिकाले टेण्डर आह्वान गरी ठेकेदारसँग विधिवत सम्झौता गरेर उत्खनन् सुरु गरेपनि प्रभावित त्यहाँका स्थानीयहरुले मापदण्ड बिपरितको नदी उत्खनन् कार्य बन्द गराउन भन्दै जिल्ला प्रशासन कार्यालय चरिकोटमा डेलिगेशनसहितको निवेदन दर्ता गरेपछि जिल्लाका प्राविधिकसहित प्रमुख जिल्ला अधिकारीको सहभागितमा अनुगमनपछि मापदण्ड विपरित भएको पुष्टिसहित गाउँपालिकालाई औपचारिक जानकारी गराउदै नदी उत्खनन् कार्यको ठेक्का खारेज गरिएको थियो ।
तर फेरी तस्कर गर्नेहरू सल्बलाउन थालेका र स्थानीय प्रशासनको मिलेमतोमा मेलुङ गाउँपालिका वडा नम्बर ७ का शान्ता कार्कीले खुलेआम नदी दोहन गरेको स्थानीयले आरोप लगाएका छन् । कार्की वडा नम्बर ७ का वडाअध्यक्षका भिनाजु समेत रहेको बताइएको छ ।
‘बिगत ४ बर्ष अगाडी मेलुङ गाउँपालिकाले टेण्डर आह्वान गरी ठेकेदारसँग विधिवत सम्झौता गरेर उत्खनन् सुरु गरेपनि प्रभावित स्थानीय जनताहरुले मापदण्ड बिपरितको नदी उत्खनन् कार्य बन्द गराउन भन्दै जिल्ला प्रशासन कार्यालय चरिकोटमा डेलिगेशनसहितको निवेदन दर्ता गरेपछि जिल्लाका प्राविधिकसहित प्रमुख जिल्ला अधिकारीको सहभागितमा अनुगमनपछि मापदण्ड विपरित भएको पुष्टिसहित गाउँपालिकालाई औपचारिक जानकारी गराउदै नदी उत्खनन् कार्यको ठेक्का खारेज गरिएको थियो । पुनश्च: किर्ने प्रहरी चौकीमा प्रभावितहरुले मौखिक, लिखित तथा फोन मार्फत अवैध उत्खनन् कार्य रोक्नको लागि पटक-पटक सम्पर्क गर्दा पनि चासो नदिएको र त्यहि स्थानमा स्थानीयले घर-गोठ निर्माण गर्न बालुवा निकाल्दा प्रहरीबाट तुरुन्तै रोकछेक हुने तर ज्यामिरे निवासी शान्ता कार्कीले खुलेआम नदी दोहन गर्दासमेत प्रहरीले रोक्दैन । यसकारण प्रष्ट हुन्छकी किर्ने प्रहरी चौकी पनि अवैध कार्यमा संलग्न छ । साथै शान्ता कार्की मेलुङ गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नाताले भिनाजु पर्ने हुनाले राजनीतिक तथा प्रहरीसमेतको बिशेष पहुँचमा गैरकानुनी तवरले नदी उत्खनन् गरि आएको हुँदा सो कार्य पूर्ण रुपमा बन्द गरि दोषीलाई कानुन संवत् कारबाही गरि पाउँ ।’ प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ ।
पछिल्लो पटक भदौ १५ गते उत्तरी दोलखाको बिगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदी किनाराबाट गैरकानूनी रूपमा बालुवा उत्खनन गरेका ४ ट्र्याक्टर सहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यसअघि १२ गते राति ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोशी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एक्स्क्याभेटर र दुई टिपरसहित २ जनालाई गस्तीमा रहेको सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अनुगमन तथा समन्वय समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खननमा लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै अवैध उत्खननमा प्रयोग भएका सवारीसाधनका धनीहरूलाई जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले जरीवाना गरेको छ । तामाकोशी नदीमा भदौ १२ गते बेलुका अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न ३ ओटा साधनलाई भदौ १४ गते बसेको जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिको बैठकले जरीवाना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए । अवैध उत्खननमा प्रयुक्त एक एक्स्क्याभेटरलाई ३ लाख तथा बालुवा अेसार्न प्रयोग भएका दुई टिपरलाई ३०÷३० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको संयोजक पाण्डेको भनाइ छ ।
प्रहरीले अवैध उत्खननमा संलग्नहरूलाई कहिलेकाहीँ समाते पनि रातको समयमा नदीबाट बालुवा झिक्ने गरिएको तामाकोशी नदी निकट बस्ने स्थानीय बासिन्दाको भनाइ छ । जथाभावी बालुवा झिक्नाले तामाकोशी नदीका बगरहरूमा खाडल मात्र देखिन थालेको छ ।
साँघुरो बगर भएको तामाकोशी नदीमा केही स्थान बाहेक कानूनी रूपमा क्रसर उद्योग राख्ने मापदण्ड नपुग्ने भए तापनि दोलखाका विभिन्न स्थानीय तहहरूले नदीका आसपास दर्जनौं ठाउँमा नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएका छन् ।


































