काठमाडौँ, माघ १- नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
समाजवादीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ ।
सो पार्टीले यही माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाएको छ ।
माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।
यस्तै आज बस्ने सचिवालय बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे समेत समीक्षा गर्ने नेताहरूले बताएका छन् । माघ ११ गते १९ पदका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका २ सहित सत्ता गठबन्धनका १९ उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाहेक एमाले, राप्रपा, जनमत लगायतका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनका उम्मेदवार जिताउन सत्ता गठबन्धनका शीर्ष नेताले अपिल गरिसकेका छन् । तर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएसँगै सत्ता गठबन्धनका ठुला दल नेपाली कांग्रेस र माओवादीसँग एकीकृत समाजवादी असन्तुष्ट बन्न पुगेको छ ।