
काठमाडौँ, माघ १- काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै १ महिनामै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्चीको उद्घाटन गरिन्, भृकुटीमण्डपमा बनाइएको धारा खोलेर । तर २०७८ असारमा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान पुरिएपछि तीन महिनामा नै पानी आउन बन्द भयो ।
अस्थायी निर्माण गरेर २०७९ वैशाख ११ मा काठमाडौंमा पुनः पानी वितरण गरियो, यसपालि पनि उद्घाटन नै गरियो । यसका लागि अघि सरे तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी । तर मेलम्चीको पानी मुस्किलले एक महिना मात्रै उपभोक्ताका धारामा आयो । बाढीपहिरोको जोखिम भन्दै २०७९ जेठमा सुरुङ बन्द गरियो । ६ महिनापछि मन्त्री चौधरीले नै मंसिर २३ मा फेरि काठमाडौंको महांकालस्थित पानी वितरण केन्द्रबाट वितरण ‘सुरुवात’ गरे । चौधरीले एकै वर्षमा एउटै ब्यानरमा दुई पटक पानी वितरणको शुभारम्भको ‘रेकर्ड’ राखे । त्यसको ६ महिनापछि पुनः २०८० असारमा मेलम्ची खानेपानीको सुरुङ बन्द भयो ।
गत साउनको बाढीले पुरिएको मुहान यतिबेला मर्मतपछि पुनः ‘उद्घाटन’ गरेर पानी वितरण गर्न लागिएको छ । यस पटक मेलम्ची उद्घाटनको पालो प्रधानमन्त्री पुष्पकमल दाहालमा आएको छ । दाहालले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर उद्घाटन गर्दा मेलम्ची खानेपानीको पाँचौं पटक ‘सुरुवात’ गर्दै छन् ।
हाल बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर २६ किलोमिटर सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याइसकिएको छ । पाँच महिनापछि पानी पुनः वितरण हुन लागेको हो । उपभोक्ताको धारामा सोमबार बिहान ८ बजे पानी पठाएर ९ बजे प्रधानमन्त्री दाहालले वितरणको शुभारम्भ गर्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।
पानी पथान्तरण (खोलाको पानी सुरुङमा पठाउने प्रक्रिया) मा पनि उद्घाटनको अर्को लहड चलिरहेको छ । २०७७ असारमा सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले यसको सुरुवात गरेका थिए । सोही वर्षको असार ३० मा सुरुङको भत्केको ढोका मर्मत गरेर पुनः पानी पथान्तरण गर्दा २०७७ फागुन ११ मा तत्कालीन खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सांसद शेरबहादुर तामाङ मुहान क्षेत्रमा पुगेर ठेलमठेल गर्दै स्विच थिचेर पथान्तरणको ‘उद्घाटन’ गरेका थिए ।
तीन वर्षमा सुरुङ र धारामा पटक–पटक उद्घाटनको होड चले पनि काठमाडौंवासीले मेलम्चीको पानी तिर्खा मेट्ने गरी पिउन अझै पाएका छैनन् । उपभोक्ताका धारामा नियमित पानी आउन सकेको छैन । बाढीपहिरोबाट आयोजनाको दिगो समाधान नगरिनु र स्थायी संरचना निर्माण हुन नसक्दा मेलम्ची खानेपानी नियमित हुन नसकेको हो ।