
झापा, पुस २९- आज राष्ट्रिय भक्का (भाका) दिवस । झापाको भद्रपुर र बिर्तामोड वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ । भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीन वटा पालिकाले आज स्थानीय बिदा समेत दिएको छ ।
भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो । भक्का दिवसको अवसरमा ती पालिकाहरूले पहिलो पटक बिदा दिएको हो ।
आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाका)लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ ।
पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।
कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ ।