
काठमाडौं, पुस २८- संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका महानिर्देशक डा. क्यू डोङ्ग्यूले कृषि फार्मको अवलोकन गरेका छन् । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर- ८, मा रहेको कृषि फार्मको शनिबार अवलोकन गरेका हुन् ।
नगरपालिका वडा नम्बर- ८ मा रहेको कृषि फार्म पेरिसमा आयोजित एक भव्य कार्यक्रममा बोल्दै महानिर्देशक डा. डोङ्ग्यूले आईपीएम प्रविधिबाट कृषिजन्य बस्तु उत्पादन गर्दा कम लागत मुल्यमा धेरै उत्पादन गर्न सकिने बताए । उनले उक्त कृषि फार्म उदाहरणको रुपमा रहेको पनि बताए । यस प्रविधिबाट कृषकहरुले न्यून लागतमा स्वस्थ तरकारी उत्पादन गर्न सक्ने र उत्पादनमा समेत वृद्धि गर्न सक्ने उनको भनाई थियो ।
आफु चीनमा जन्मिएको र किसानकै छोरो भएर काम गरेको अनुभव साट्दै डा. डोङ्ग्यूले यहि क्षेत्रमा काम गरिरहेको सुनाए । पछिल्लो समय आईपीएम प्रविधिले किसानहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यसमा नयाँ युवा पुस्तालाई आकर्सित गर्न सके विश्वका किसानहरु आर्थिक जीवन समृद्ध हुने र मानवजातिको खानपान तरिकामा परिवर्तन ल्याउन सकिने उनको भनाई थियो ।
तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आईपीएम) विश्वमा लोकप्रिय प्रविधि भएको र जैविक विषादीको माध्यमबाट तरकारी उत्पादन गर्दा मानव स्वास्थ्यलाई फलदायी हुने बताउदै डोङ्ग्यूले यो प्रविधि नेपालमा पनि अवलम्बन गरेकोमा खुसि व्यक्त गरे । नेपालको कृषि क्षेत्रको वृति बिकास गर्न संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन तयार रहेको बताउदै उनले यसको लागि कसरी सहकार्य गर्न सकिन्छ ? नेपाल सरकारसंग छलफल भईरहेको बताए ।
उनले आईपीएम प्रविधिबाट संचालन गरिएको कृषि फर्म अवलोकन गर्ने सु-अवसर दिएकोमा मण्डनदेउपुरवासी जनतालाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरेका मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले मण्डनदेउपुर नगरपालिकामा ७७.५ प्रतिशत जनता कृषि पेशामा संलग्न रहेको र दुग्ध उत्पादन र तरकारी खेतीमा अन्य नगरपालिकाको तुलनामा अगाडी रहेको बताए ।
एफएओ, नेपाल सरकार र सम्बद्ध निकायहरुको सहयोगमा संचालित शत्रुजीव व्यवस्थापन कार्यक्रमले मण्डनदेउपुर नगरपालिकाको बाली संरक्षण, खाद्य सुरक्षा, गरिवी निवारण र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।
नगरपालिकाको कृषि उपज मध्ये दुग्ध उत्पादन प्राथमिकता क्षेत्र भएको र उत्पादनको हिसावले पनि उच्च रहेको बताउदै किसानहरुको जिवीकोपार्जनमा सुधार ल्याउन दुग्ध पदार्थ उत्पाद विविधीकरण तथा लागत न्यूनीकरण आजको पहिलो आवश्यकता रहेको उनले औल्याए ।
कृषि उत्पादनको अर्को महत्वपूर्ण क्षेत्र स्वस्थ तरकारी बालीको उत्पादनमा बजारीकरण र यान्त्रीकरण भएको भन्दै यसमा मण्डनदेउपुर नगरपालिकाले २०५५ सालदेखि नै आईपीएम प्रविधि अवलम्बन गर्दै आएकोले आज यो नगरपालिका अन्य नगरपालिकाको तुलनामा कृषि क्षेत्रमा अग्रस्थानमा रहेको उनको भनाई छ ।
बिषादी छर्ने र बालीनालीको रोग पहिचानका लागि “टेली प्लान्ट” नामक एप्स प्रयोगको लागि परीक्षण गर्न लागेको जानकारी पाउदा खुसि भएको भन्दै यस्ता प्रविधिहरुको प्रयोगले कृषि उत्पादनमा श्रमको वचत, लागत मुल्यमा कमि, उत्पादनमा वृद्धि र रोजगारी समेत सृजना हुने विश्वास लिए । तथापि उत्पादित कृषि उपजहरुको बजारीकरण नभए सम्म किसानले उचित लाभ प्राप्त गर्न नसक्ने भन्दै एफएओ र नेपाल सरकारलाई यस तर्फ लगानी बढाउन उनले आग्रह गरे ।
उनले आफ्नो नगरपालिकामा संचालित कृषि फर्मको अवलोकन गर्न आउनुभएकोमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका महानिर्देशक डा. डोङ्ग्यू लगाएत उहाको टिमलाई धन्यवाद दिए ।
हाल मण्डनदेउपुर क्षेत्रमा तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आईपीएम) प्रविधि मार्फत विशेषगरी काउली, आलु, गोलभेँडा र मुलाखेती गरिदै आएको छ । मौसमी तथा बेमौसमी तरकारी खेती आइपीएम प्रविधिबाट किसानहरुको लाभ उठाई रहेका छन् ।
मण्डनदेउपुरका कृषकहरुका अनुसार, आइपीएम प्रविधिबाट तरकारी खेती गर्नसके उत्पादन लागत कम हुने र जैविक विषादी आफैँले उत्पादन गर्दा कम लागत र तरकारीमा अन्य खतरनाक प्रकारका विषादी पनि नहुने भएकाले आइपीएम प्रविधि उपयुक्त लागेको अनुभव सुनाए ।
पछिल्ला समय मण्डनदेउपुर क्षेत्रका तरकारीमा विषादीको मात्रा न्यून हुँदै गएको विभिन्न परीक्षणबाट देखिएको छ ।





















